नेशनल जियोग्राफिकको उत्कृष्ट होटल सूचीमा मुस्ताङको सिन्तामणि
अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले सार्वजनिक गरेको विश्वका उत्कृष्ट होटलहरूको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि रिसोर्ट समावेश भएको छ। एसियाबाट छनोट भएका तीन होटलमध्ये सिन्तामणि पहिलो स्थानमा परेको हो।
नेशनल जियोग्राफिकका अनुसार स्थानीय ढुंगाबाट निर्माण गरिएको यो रिसोर्ट पदयात्रा, स्थानीय संस्कृति, परम्परागत परिकार र हिमाली जीवनशैलीको अनुभवका कारण उत्कृष्ट सूचीमा परेको हो। रिसोर्ट आसपास रहेका शताब्दीऔँ पुराना बौद्ध गुम्बा तथा हिमाली याकको मोमो, तिब्बती थुक्पाजस्ता स्थानीय परिकारको समेत प्रशंसा गरिएको छ।
यो सूचीमा श्रीलंकाको कुरुलु बे र भुटानको एन्ड बियोन्ड पुनाखा रिभर लज पनि समावेश छन्। सूची नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकहरूको मूल्यांकनका आधारमा तयार गरिएको हो।
सिन्तामणि रिसोर्ट शेर्पा हस्पिटालिटी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको २९ कोठाको लक्जरी रिसोर्ट हो। दुई वर्षअघि सञ्चालनमा आएको यस रिसोर्टमा बस्न कम्तीमा पाँच रातको बुकिङ अनिवार्य छ।
रिसोर्टमा एक रातको आधारभूत शुल्क १,८०० अमेरिकी डलर रहेको छ, जसमा १३ प्रतिशत भ्याट र २ प्रतिशत लक्जरी कर समावेश छैन। करसहित एक रात बस्न करिब २ लाख ७३ हजार रुपैयाँ खर्च हुने जनाइएको छ। यो शुल्कमा दुई जनाका लागि आवास, खाना, पेय पदार्थ तथा वेलनेस कार्यक्रम समावेश छन्।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्