देवानगञ्ज तनाव: गृहमन्त्रीलाई घटनास्थलमै आउन स्थानीयको माग
सुनसरीको देवानगञ्जमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद झडपमा परिणत भएपछि क्षेत्र अझै तनावग्रस्त बनेको छ। बुधबारदेखि अवस्था तुलनात्मक रूपमा शान्त भए पनि स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
स्थानीयवासीले समस्या समाधानका लागि गृहमन्त्री घटनास्थलमै आएर वास्तविक अवस्था बुझ्नुपर्ने माग गरेका छन्। गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले पनि काठमाडौंबाट निर्देशन दिनेभन्दा गाउँमै आएर स्थानीयसँग संवाद गर्न सरकारलाई आग्रह गरेका छन्।
गृहमन्त्री स्वयं घटनास्थलमा नपुगे पनि उनका प्रमुख स्वकीय सचिव जेम्स कार्की सुनसरी पुगेर सर्वपक्षीय बैठकमा सहभागी भएका थिए। उनले सरकार घटनाप्रति गम्भीर रहेको र कानुनी प्रक्रियाअनुसार आवश्यक निर्णय अघि बढाइने बताएका छन्।
सर्वपक्षीय बैठकमा मृतकलाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार, घटनामा संलग्न दोषीमाथि कारबाही तथा स्थानीय समस्याको दीर्घकालीन समाधानको माग उठाइएको थियो।
बैठकले पाँचबुँदे प्रतिबद्धता जारी गर्दै सामाजिक सद्भाव कायम राख्न, भ्रामक तथा उत्तेजक सामग्री सामाजिक सञ्जालमा साझा नगर्न र आधिकारिक सूचनामात्र विश्वास गर्न सबैसँग आग्रह गरेको छ। स्थानीय प्रशासनका अनुसार कर्फ्यु आदेश यथावत् रहेको छ भने जिल्लाको अवस्था सुधारोन्मुख भए पनि पूर्ण रूपमा सामान्य भइसकेको छैन।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्