इरानमाथि थप हमला गर्ने ट्रम्पको संकेत, तेल १०० डलर नाघ्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझ ठूलो सैन्य कारबाही गर्ने सम्भावनाबारे विचार भइरहेको बताएका छन्। तेहरानले अझै पर्याप्त क्षति नबेहोरेको दाबी गर्दै उनले थप सैन्य अभियान सुरु गर्ने निर्णयको नजिक पुगेको संकेत दिएका हुन्।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार जुलाई २३ को रात इरानमाथि लगातार १३ औँ रात हवाई आक्रमण गरिएको छ। सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण केन्द्र, सञ्चार सञ्जाल, तटीय निगरानी स्थल तथा समुद्री क्षमतालाई लक्षित गरी हमला गरिएको सेन्टकमले जनाएको छ।
इरानको अर्ध–सरकारी समाचार संस्था ‘तस्निम’का अनुसार दक्षिणपश्चिमी खुजेस्तान प्रान्तको अहवाज नजिक अमेरिकी मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
ट्रम्पको अभिव्यक्तिपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले कडा प्रतिक्रिया जनाउँदै अमेरिकाको आक्रामकताले युद्ध अन्त्यका लागि अझ ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
अमेरिकी वायुसेनाले खोंदाब, खोर्रमाबाद, कोनारक, जास्क तथा राजधानी तेहरानका विभिन्न क्षेत्रमा आक्रमण गरेको छ। रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलसन्धिनजिकको जास्क बन्दरगाहमा शक्तिशाली विस्फोट भएको जनाइएको छ भने तेहरानमा इरानी वायु रक्षा प्रणाली सक्रिय पारिएको थियो।
उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको नफुटेको विस्फोटक पदार्थ निष्क्रिय बनाउने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। यससँगै युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको छ।
यसैबीच, पेन्टागनका पूर्व अधिकारी मार्क क्यान्सियनले युद्ध लम्बिँदै जाँदा अमेरिकाको हतियार भण्डार तीव्र रूपमा घट्दै गएको बताएका छन्। इरानमा प्रयोग गरिएका मुख्य सात प्रकारका हतियारमध्ये करिब आधा भण्डार सकिएको र पुनः भर्न दुईदेखि पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।
यमनका हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा तनाव थप बढेको छ। हमलापछि दुवै ट्याङ्करमा आगलागी भएको जनाइएको छ। बाब अल–मन्देब जलसन्धिमा सुरक्षा जोखिम बढेपछि धेरै व्यापारिक जहाजले अफ्रिकाको दक्षिणी मार्ग रोज्न थालेका छन्।
यसको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। यो साता मात्रै तेलको मूल्य करिब १३.५ प्रतिशतले बढेको बताइएको छ।
अमेरिकी प्रतिनिधिसभाले युद्ध रोक्ने 'वार पावर्स रिसोल्युसन' पारित गरे पनि सिनेटले त्यसलाई अस्वीकृत गरेको छ। साथै, ट्रम्प प्रशासनको ९५ अर्ब डलरको अतिरिक्त रक्षा बजेट पनि स्वीकृत भएको छ, जसले इरानसम्बन्धी सैन्य अभियानका लागि थप स्रोत उपलब्ध गराउनेछ।
यसैबीच, बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीका लागि डिएगो गार्सिया र फेयरफोर्ड एयरबेस प्रयोग गर्न अनुमति दिएको जनाइएको छ।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्