त्रिविको एमबिएस प्रश्नपत्र परीक्षा सुरु भएको ५ मिनेटमै आउट, शिक्षामन्त्रीको जवाफदेहिता कहाँ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपालको उच्च शिक्षा प्रणालीमाथि फेरि गम्भीर प्रश्न उठेको छ। यस घटनासँगै शिक्षामन्त्री र सम्बन्धित निकायको जिम्मेवारी तथा जवाफदेहितामाथि पनि प्रश्न उठ्न थालेको छ।
जानकारीअनुसार साउन ८ गते मध्याह्न १२ बजे सुरु भएको परीक्षाको प्रश्नपत्र करिब पाँच मिनेटभित्रै ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा शेयर गरिएको थियो। सार्वजनिक भएका स्क्रिनसटमा प्रश्नपत्रसँगै समाधान (Solution) मागिएको संवादसमेत देखिएको छ, जसले प्रश्नपत्र चुहावटको आशंकालाई थप बल दिएको छ।
घटनापछि ‘TU Students’ नामक फेसबुक पेजले सार्वजनिक रूपमा त्रिविको ध्यानाकर्षण गराउँदै परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि त्रिवि व्यवस्थापन संकायका डीन कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै घटनाको अनुसन्धान गरी संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्र पहिचान गरेर कानुनी कारबाही गर्न अनुरोध गरेको छ।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा पटक–पटक परीक्षा प्रणालीमाथि प्रश्न उठ्ने घटना दोहोरिँदै आएका छन्। यस्ता घटनाले विद्यार्थीको भविष्य, परीक्षाको विश्वसनीयता र शिक्षा व्यवस्थाको पारदर्शितामाथि गम्भीर असर पार्ने भन्दै सरोकारवालाले प्रभावकारी सुधारको माग गरिरहेका छन्।
यस घटनापछि शिक्षा क्षेत्रका जानकारहरूले "परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिनु सामान्य कमजोरी होइन, प्रणालीगत सुरक्षा विफलता हो" भन्दै शिक्षा मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
(एजेन्सी/सेतोपाटीको सहयोगमा)
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्