लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २६८८ अंकमा झर्यो
बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८ अंकमा झरेको छ । अघिल्लो दिन ४.६४ अंक घटेको बजार आजसहित लगातार तेस्रो दिन ओरालो लागेको हो ।
कारोबारका क्रममा दिउँसो १२ः४० बजे नेप्से दिनभरकै उच्च २७०६ अंकसम्म पुगे पनि त्यसपछि घट्ने क्रम रोकिएन । अन्तिम समयसम्म बजार ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकमा भने १ प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ । अन्य समूह ०.४३ प्रतिशत बढ्दा बाँकी सबै समूह घटेका छन् ।
बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार समूह ०.०१ प्रतिशतले घटेका छन् ।
सूचीकृत भएदेखि नै १५ प्रतिशतले बढ्दै आएको एभरेस्ट कलरको सेयर मूल्य बढ्ने क्रम बुधबार पनि जारी रह्यो । त्यस्तै स्नो रिभर्सको ४.९०, खानीखोला हाइड्रोपावरको ३.६२, हिमालयन पावर पार्टनरको ३.३५ तथा मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशतले मूल्य बढेको छ ।
यता मातृभूमि लघुवित्तको ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ तथा शुभम् पावरको ४.२६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर अगाडि रहे ।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्