आशिष राईको उपचारका लागि मलेसियामा मैत्रीपूर्ण फुटबल हुने
युवा फुटबलर आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउन मलेसियामा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ।
आगामी अगस्ट २ मा पेनाङमा एन पेनाङ एफसी (मलेसिया) र नेपबोर्न एफसी (अस्ट्रेलिया)बीच विशेष मैत्रीपूर्ण खेल हुन लागेको हो।
एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले खेल आयोजना गर्न लागिएको हो। खेलबाट संकलन हुने सम्पूर्ण रकम उपचाररत आशिषलाई हस्तान्तरण गरिनेछ।
यसअघि एन पेनाङले हिमालयन एफसीसँग खेलेको मैत्रीपूर्ण खेलबाट चार हजार मलेसियन रिंगेट तथा सहयोगीहरूबाट एक हजार ५०० रिंगेट गरी कुल पाँच हजार ५०० रिंगेट संकलन गरेको थियो। उक्त रकम पनि अगस्ट २ को खेलपछि आशिषलाई हस्तान्तरण गरिनेछ।
आशिष विगत १७ महिनादेखि उपचाररत छन्। सन् २०२४ मा नेपाल र चीनबीच भएको प्रदर्शनी खेलका क्रममा उनको खुट्टा भाँचिएको थियो। त्यसपछि चिनियाँ दूतावासको समन्वयमा उनलाई उपचारका लागि ६ महिनासम्म चीनको युनान लगिएको थियो।
स्वास्थ्यमा सुधार भएपछि नेपाल ल्याएर पुनर्स्थापनाका लागि रिह्याबमा राखिएको थियो। थप उपचारका लागि गत अप्रिल ३० मा उनलाई थाइल्यान्डको बैंकक अस्पताल लगिएको हो। हाल आशिष थाइल्यान्डमै उपचाररत छन्।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्