अर्जेन्टिना फुटबल संघविरुद्ध फिफाको मुद्दा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अर्जेन्टिना फुटबल संघविरुद्ध अनुशासनात्मक मुद्दा दर्ता गरेको छ।
फिफाले विश्वकप फाइनलपछि स्पेनका खेलाडीमाथि भएको कुटपिट, सेमिफाइनलपछि फ्याकल्यान्ड (माल्भिनास) टापुसम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन, समर्थकहरूको भेदभावपूर्ण नारा तथा दर्शकले मैदानतर्फ सामग्री प्रहार गरेका घटनालाई आधार बनाएर अनुसन्धान अघि बढाएको हो।
जुलाई १९ मा स्पेनसँग १–० ले पराजित भएपछि भएको झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिआन्द्रो बारेदेसमाथि तीन, डिफेन्डर नहुएल मोलिनामाथि दुई र सहायक प्रशिक्षक रोबर्टो आयालामाथि एक आरोप लगाइएको छ। मोलिना र थियागो अल्माडामाथि खेलभावनाविपरीत व्यवहार गरेको आरोप पनि छ। यस्तै, स्पेनका खेलाडी गाभीमाथि पनि सोही आरोप लगाइएको छ।
सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ अर्थात् ‘माल्भिनास अर्जेन्टिनाकै हो’ भन्ने सन्देशसहितको ब्यानर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनलाई गैर–खेलकुद प्रकृतिको राजनीतिक सन्देश भएको भन्दै बेलायती अधिकारीहरूले फिफासमक्ष छानबिनको माग गरेका थिए।
फिफाले आरोपित सबै पक्षलाई आफ्नो धारणा प्रस्तुत गर्ने अवसर दिइएको जनाएको छ। अनुशासन समितिले छानबिनपछि आवश्यक निर्णय सार्वजनिक गर्ने बताएको छ।
विज्ञापन
यहाँको लागि एडमिनमा ब्यानर थप्नुहोस्